सौगात–विपिनको ‘द रेड सुटकेस’ नयाँ वर्षमा

रंग नेपाल २०८० पुष १७ मा प्रकाशित

काठमाडौं । विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा अवार्डसमेत जित्न सफल नेपाली चलचित्र ‘द रेड सुटकेस’को नेपालमा पनि प्रदर्शन गरिने भएको छ । आगामी नयाँ वर्षको अवसर पारेर यो चलचित्रलाई आगामी ३० चैतमा रिलिज गरिने यसको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र गत सेप्टेम्बर महिनामा भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो । सो फेस्टिभलमा रेड सुटकेशले महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता यो फिल्म संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो ।

यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्मनमा लामो समय रहेर सिनेमामा उच्च शिक्षा हाँसिल गरेका फिडेलले यो चलचित्रबाट विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेका छन् । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा बुनिएको निर्देशक फिडेलले बताए ।

फिडेलकै लेखन रहेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् ।

यो चलिचत्रलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्णले यो चलचित्र पनि त्यस्तै मौलिक कथामा आधारित रहेको बताएका छन् ।

विदेशी दर्शकबाट फिल्मले राम्रो प्रसँसा पाएका कारण नेपालका दर्शकमाझ यो फिल्म ल्याउन लागेको पनि उनले बताएका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट