चलचित्र ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

रंग नेपाल २०८० पुष २० मा प्रकाशित

काठमाडौं । दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । चलचित्र ‘चिसो मान्छे’ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

चलचित्र ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियोपसलका सह(संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर चलचित्र रिलिज गरिएको हो ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित चिसो मान्छेमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।

२०१७ देखी सञ्चालनमा रहेको भिडियोपसलमा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ लगायतका चलचित्रहरू रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट