नेपाली विज्ञापनमा नेपाली कलाकार अनिवार्य गर्नुपर्छ : भुवन केसी

रंग नेपाल २०८० माघ १५ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा राखिने होर्डिङ बोर्डजन्य विज्ञापनमा नेपाली कलाकार नै अनिवार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल विज्ञापन बोर्डले सोमबार राजधानीमा आयोजना गरेको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयको अन्तरक्रियामा उनले भारतीय कलाकारहरु आउँदा होर्डिङ बोर्डमा आफ्ना फोटोहरु देखेर नेपाल इन्डियाकै प्रान्त हो भन्न समेत भ्याउने भएकाले त्यस्तो नहोस् भन्न पनि नेपाली कलाकारलाई नै अनिवार्य गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालको टेलिभिजन, युट्युब, पत्रपत्रिका अथवा होर्डिङ बोर्डमा कम्तीमा पनि नेपाली कलाकार अनिवार्य हुनुपर्‍यो र नेपाली टेक्निसियनले पनि त्यसमा मौका पाउनुपर्‍यो । भारतीय कलाकारहरु आउँदा होर्डिङ बोर्डमा आफ्ना फोटोहरु देखेर नेपाल इन्डियाकै प्रान्त हो भन्न पनि भ्याउछन् । त्यस्तो नहोस् भन्न पनि नेपाली कलाकारलाई नै अनिवार्य गरियोस् भन्ने चाहेको हो ।’

कलाकारले विज्ञापनमा काम गर्दा सजग हुनु आवश्यक रहेको भन्दै उनले निषेधित र गलत सूचना जाने विज्ञापन गर्न नमिल्ने बताए । सामाजिक कार्यका विज्ञापन छन् भने निःशुल्क पनि गर्नुपर्ने उनको भनाइ छ ।

‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने भन्ने कुरामा कलाकारले धेरै सजग हुनुपर्छ । निषेधित गरिएको र गलत सूचना जाने विज्ञापन पनि गर्न हुँदैन,’ उनले भने, ‘समाजमा कहिलेकाँही एकदमै राम्रा सामाजिक कार्यका विज्ञापन छन् भने निःशुल्क पनि गरिदिनुपर्ने हुन्छ र पहिला गरेका पनि छौं ।’

धेरै पढिएका

पछिल्ला अपडेट