चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा सुरु

रंग नेपाल २०८० फागुन ६ मा प्रकाशित

हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरू भेला भएका छन् ।

संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा ८ गतेसम्म चल्ने भेलामा सिनेमा संवाद, अन्तर्क्रिरया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका ११ वटा सेसन सञ्चालन हुने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी दिए ।

भेलाको आइतबार दिउँसो एक औपचारिक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर लामाले चलचित्र क्षेत्रलाई व्यक्ति र पेसा मात्रै भन्दा पनि राज्यको संस्कृति र पहिचानसँग जोड्नुपर्ने बताइन् । उनले चलचित्रले नेपाली कला, संस्कृति, परम्परा र जीवनशैलीलाई उजागर गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको दूरी बढ्दो क्रममा रहेको भन्दै यस्ता भेलाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको स्मरण गराउँदै हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे ।

यसैगरी, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । उनले ऐन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मस्यौदा तयार गरिरहेको जानकारी दिए । एक वर्षभित्र चलचित्र क्षेत्रमा नयाँपनको महसुस हुने गरी काम गरिरहेको उल्लेख गर्दै सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला सञ्चालन गरिरहेको पनि बताए ।

भेलाले सिनेमालाई पर्यटनको आधारको रूपमा अघि बढाउने, पर्यटकीय क्षेत्रका लागि प्रचुर सम्भावना बोकेका र सिनेमाका विषयवस्तुसँग जोडिनसक्ने स्थानीय ठाउँहरूलाई सिनेमाको माध्यमबाट प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने भेलाको व्यवस्थापनमा सहयोग गरिरहेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट