खानामा माछा नदिएको भन्दै विवाह बहिष्कार गर्दै जन्ती फर्किएपछि…

रंग नेपाल २०८० फागुन २३ मा प्रकाशित

पर्सा । खानाको विषय लिएर विवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको विभिन्न प्रान्तमा हुनेगरेको समाचार विगतमा सुन्न र पढ्न पाइन्थ्यो । तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ । जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्षबीच कुटपिट भएर अन्तमा बिहे विहिष्कार गरी जन्ती फिर्ता गएको घटना सार्वजनिक भएको हो ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ । जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटपिटमा बेहुलाका बुबा घाइते भएपछि बिहे नै नगरी जन्ती फिर्ता हुने अवस्था आएको थियो।

कुटपिट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्षबीच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन् । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन् । बेहुला र बेहुली पक्षबीच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले बताए ।

पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन् । कतिपय दुईपक्षबीच खानाको बारेमा के खुवाउने भनेर पहिल्यै सहमति हुने गर्दछ ।

धेरै पढिएका

पछिल्ला अपडेट