‘बद्री बहादुर’ नचले कलाकारिता छोड्छु : जयकिशन बस्नेत

रंग नेपाल २०८० चैत २१ मा प्रकाशित

काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ यही शुक्रबारबाट देशभर रिलिज हुँदैछ ।

फिल्म रिलिजको छेको पारेर फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका बारे जानकारी दिएको छ । सम्मेलनमा फिल्मका प्रमुख कलाकार जयकिशन बस्नेतले यो फिल्म नचले आफूले कलाकारिता छोड्ने घोषणा गरे । ‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म ‘धुम ४’ असफल भयो । त्यो असफलताको दुःख मलाई छ । यसपटक दर्शकका लागि हँसाउने फिल्म निर्माण गरेको छु । यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु’, उनले भने ।

फिल्म कमेडी र एक्सनको समिश्रण भएकाले दर्शकका लागि फिल्मले फरक स्वाद दिने बताए । ‘शुक्रबार, शनिबार र आइतबार फिल्म मज्जाले चल्छ । चलेन भने मेरो कलाकारिताले विश्राम लिन्छ’, जयकिशनले भने ।

निर्देशक शोभित बस्नेतले ‘बद्री बहादुर’ मौलिक मसलेदार फिल्म बनेकाले दर्शकले रुचाउने दाबी गरे । ‘यो फिल्म हेरिरहँदा दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुञ्जेल आनन्द आउँछ । मेरो २८ वर्षे फिल्मी करियरमा बद्री बहादुर अर्को राम्रो फिल्म हो’, उनले भने ।

फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् । शोभितले पूजा र सलोनलाई आफ्नो फिल्मको ब्राण्ड एक्बासेडरका रुपमा तुलना गरे । ‘एउटा राम्रो उत्पादनलाई बजारीकरण गर्न ब्राण्ड एम्बासेडर चाहिए जस्तै हाम्रो फिल्मका लागि पूजा र सलोन ब्राण्ड एम्बासेडर हुन्’, शोभितले भने ।

अर्का कलाकार राजीवजंग बस्नेत आफूले शोभित बस्नेतकै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकाले उनको फिल्ममा अभिनय गरिरहन पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताए ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने फिल्र्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट