चलचित्र ‘जार’को ग्राण्ड प्रिमियर शो सम्पन्न

रंग नेपाल २०८२ वैशाख २४ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘जार’को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगानसहित प्रिमियर शो सम्पन्न गरिएको हो ।

प्रिमियरपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुने भन्दै आफूले मौका पाएको उनले खुसी व्यक्त गरे । उनले भने, ‘एकदमै नछुटाउने खालको चलचित्र बनेको छ । यो मेरो २६–२७ वर्ष देखिको एउटा कल्पना थियो । कतिपटक मलाई यस्तोसम्म भयो कि मैले यो फिल्म गरिसके जस्तो लाग्थ्यो । त्यति मन परेको थियो । कुनै दिन गर्छु भनेर कुरेर बसेको थिए । धेरै ६–७ वर्ष देखि नै प्रयास गर्दा भएको थिए । तर अहिले आएर बन्न लेखेको रहेछ । यस्तो पात्र निभाउने हरेक कलाकारलाई लोभ हुन्छ । मैले पाएँ । खुसी छु ।’

त्यस्तै, अर्का नायक अनुपविक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने, ‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौँ । हजुरहरुले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’

सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो ।

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा फिल्म ‘जार’ बनेको हो । फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

‘जार’ शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट