काठमाडौं । तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन् । उनी चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन् ।
निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए । उनले भने, ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ । उहाँ यो फिल्ममा पल शाहको बुबाको भुमिकामा हुनुहुनेछ । नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुहन्छ ।’
अभिनेता रावतले नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको बताए ।
रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए । जसमा अभिनेत्री नीता ढुङ्गानाको बुबाको भुमिका निर्वाह गरेका थिए । जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए । यस फिल्ममा भने उनी पलको बुबाको भुमिकामा अभिनय गर्न लागेका हुन् । निर्देशक चन्द्रले नै निर्देशन गरेको फिल्म ‘माई’ र ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका थिए ।
यस फिल्ममा यसअघि विपना थापा, पल शाह अनुबन्ध भइसकेका छन् । चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् । उनै निर्देशक पन्तको दोस्रो फिल्ममा पनि सहकार्य गर्न लागेकी हुन् ।
फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन् भने फिल्मको भदौबाट फ्लोरमा तयारी निर्माण पक्षको छ ।
फिल्ममा प्रदीप, विपना र पलका साथमा अन्य कलाकारहरुलाई निर्माण पक्षले अनुबन्ध गर्ने काम गरिरहेको छ । अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ ।
थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो ।
निर्देशक पन्तले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन् । उनका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ ।