काठमाडौं । देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । ३५ लाख नगदसहित फिल्म क्षेत्रमा काम गर्ने अवसर यस प्रतियोगिताको मुख्य आकर्षण बनेको छ ।
नेपालका हिमाली, पहाडी, तराई क्षेत्रहरूदेखि भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई र दुबईसम्मबाट हजार भन्दा बढि प्रतिस्पर्धी अडिसनमा सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनमार्फत छनौट हुँदै हाल २० जना प्रतिस्पर्धी फाइनल चरणमा पुगेका छन् ।
जजहरु नीर शाह, अनुप बराल र ऋचा शर्माको निर्णयबाट टप २० चयन गरिएको हो भने अब उत्कृष्ट १५ को छनौट दर्शकको भोटिङमार्फत हुनेछ । भोटिङ खुला भएसँगै दर्शकमाझ शोको उत्साह झन् बढेको देखिएको छ।
नेपालभित्र भोट गर्न चाहने दर्शकले ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टार मा क्लिक गरेर मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्छन् । नेपालबाहिर रहेका दर्शकका लागि भने सिनेमाघर एप मार्फत भोटिङ प्रक्रिया उपलब्ध छ ।
शोको विजेताले नगद २० लाख रुपैयाँ र नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् ।
त्यस्तै, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद पुरस्कार जित्नेछन्।
शोको आयोजना महक मिडिया नेटवर्क ले गरेको हो । अब पहिलो ‘एक्टिङ स्टार’ को उपाधि कसले जित्छ भन्ने कुरा दर्शकको हातमा छ ।