‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक

रंग नेपाल २०८२ साउन १० मा प्रकाशित

काठमाडौं । सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्म ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुक दर्शकलाई कौतुहलता जगाउने किसिमको बनेको छ ।

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय देख्न सकिनेछ । फिल्मका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् । छायांकन शंकल्प भुजेल, सम्पादन नहकुल खड्का, साउन्ड डिजाइन भरत कंडेल र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने संकेत गरेका छन् । उनी भन्छन्, ‘पहिला फिल्मको सम्पूर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने विषयमा निर्णय गर्नेछौँ । तर, युट्युब हाम्रो पहिलो प्राथमिता चैँ होइन ।’

‘निःशब्द’ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको छ ।

निर्देशक ज्ञवालीका अनुसार, यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छोइदिनेछ र समाजलाई सोच्न बाध्य पार्नेछ । ज्ञवाली भन्छन्, ‘सर्ट फिल्ममा ठूलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन । हामीले छोटो समयमा केहि बोल्दैछौँ । दर्शकले छोटो कथामा धेरै कुरा बुझ्नेछन् ।’

रामजी ज्ञवालीले यसअघि निर्माण गरेका ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ समेत प्रदर्शनको तयारीमा छ । ‘निःशब्द’सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन् । ‘रित्तो गाउँ’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिरहेको छ भने विभिन्न फेस्टिवलहरुमा प्रदर्शन भइरहेको छ ।

एक दशक लामो पत्रकारिता यात्रापछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’लगायतका चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट