काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’मा नवअभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन् ।
भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए । स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृष्ट आठमा पर्न सफल बनेका थिए ।
नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ ।
चलचित्र ‘सुम्निमा’ मार्फत अनिकेत नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ । यद्यपि नामले नारीप्रधान जस्तो लागे पनि, कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित रहने निर्देशक चाम्स बताउँछन् ।
यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप विक्रम शाही चलचित्रमा अनुबन्धित भइसकेका छन् । अन्य कलाकार तथा प्राविधिक टिमको चयनको प्रक्रिया जारी रहेको छ ।
चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारी छ । निर्देशक चाम्सको पछिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको थियो । त्यसैले ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गर्न लागिएको चाम्सको भनाइ छ ।