प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ अमेजन प्राइममा

रंग नेपाल २०८२ साउन २७ मा प्रकाशित

काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ । नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो ।

चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ ।

शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ पनि यसअघि नै अमेजन प्राइममा उपलब्ध छ । हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ ।

साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यस चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्मको कथावस्तु सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ भने यसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन रुपेश गुरुङको रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट