फिल्म ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री

रंग नेपाल २०८२ भदौ २ मा प्रकाशित

काठमाडौं । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आमा बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ ।

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुन लागेको फिल्मलाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो । मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो । यस बाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए ।

उनका अनुसार यो फिल्म निर्माण भइसकेपछि विदेशमा यो फिल्मको माग उच्च बढ्ने देखिन्छ । पछिल्लो समय नेपाली फिल्मको क्रेज नेपालमा मात्र नभएर, विदेशमा पनि उच्च छ ।

यो क्रेज फर्काउनुमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि हो । यस फिल्ममा पल शाह, उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ । उनीहरु यस फिल्मका लागि फाइनल भइसकेका छन् ।

यही महिनाबाट छायांकनमा निस्किने यो फिल्मका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ । फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ । यो फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट