काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’को फस्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।
एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निराश देखिएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।
पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन ।
त्यस्तै, सार्वजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ र विजय बीचको नोक–झोकलाइ प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाई दिएको छ ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ, विजय, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।
यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।