रमेश पौडेलले ल्याए राराको सौन्दर्य झल्काउने गीत

रंग नेपाल २०८२ पुष २० मा प्रकाशित

काठमाडौं । मुगु जिल्लाको रारा ताल र यसको वरपरको क्षेत्रमा पर्यटन, संस्कृति, कला र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले २०५८ साल कात्तिक महिनामा प्रथम रारा महोत्सव सम्पन्न भएको थियो । महोत्सवको समाचार सङ्कलनका लागि काठमाडौंबाट रेडियो, टेलिभिजन र अखबारका एक दर्जन पत्रकार पुगेका थिए ।

रेडियो नेपालमा कार्यरत कवि गीतकार रमेश पौडेल पर्यटन विशेष ‘देश दर्शन’ कार्यक्रम चलाउँथे । रारा पुगेपछि केही पत्रकार साथीहरूलाई उक्साएर पूरै रारा ताल फन्को लगाउँ भने । उनलाई साथ दिए– पत्रकार चुडामणि भट्टराईले मात्र ।

रारा घुमेर तालकै छेउमा बसेर रमेशले गीत लेखे–

आहा…….. रारा……
स्वर्गकी अप्सरा !
रारा भेटदा पहिलोचोटि, यस्तो मोह जाग्यो
पहिलोचोटि रारा पुग्दा, यस्तो मोह जाग्यो
मिल्ने भए आँखाबाट, निलूँजस्तो लाग्यो !

जति हेर्‍यो त्यति राम्री, प्यास नमेटिने
धरतीकै स्वर्ग यहीँ छ, कहीँ नभेटिने
छोऊँ भने दाग लाग्ने, एकान्तकी रानी
ब्युँझदा नि हेरिराख्छु, आँखा तानीतानी !

गलाभरि सुहाउने, मुगाली माला जस्तै
स्वर्गबाट झरेकी, अप्सराको चाला जस्तै
रारा तिमी सौन्दर्यकी, आहा अनुपम खानी
तिम्रै छेउ बिताऊँ लाग्यो बाँकी जिन्दगानी !
आहा…….. रारा…… स्वर्गकी अप्सरा !
**

रमेशले यो गीत उनकै गीतसङ्ग्रह ‘आभासित आलाप’मा छापेका छन् । अहिलेको प्रविधिसित अपडेट भइरहने रमेशले सुनो एआइमा २४ वर्ष अघि लेखेको गीत खन्याए । गीतको धून आफैंले निकाल्न लगाए र गाउन लगाए ।

मल्टिमिडियामा समेत गहिरो अभिरुचि राख्ने रमेशले भने– भिडियो बनाउन केही हप्ता लाग्यो, साराकै ओरिजिनल क्लिपहरू रारा पुगेकै साथीहरूले उपलब्ध गराउनु भयो अनि यो लिरिकल भिडियो तयार पारेँ ।

गीतकार पौडेलले यो गीत आफ्नै युट्युब च्यानल आवरण क्रियशनमा अपलोड गरी विश्वव्यापी गराएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट