
काठमाडौं । संयुक्त राज्य अमेरिकाको लस भेगासमा हुने विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२६ मा नेपालबाट सञ्जु भट्टले प्रतिनिधित्व गर्ने भएकी छन् । भट्टले जनवरी २२ देखि ३० जनवरीसम्म हुने प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्न लागेकी हुन् ।
मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन असमर्थ भएपछि उनको स्थानमा भट्टलाई नेपालको प्रतिनिधित्वका लागि चयन गरिएको मिसेस् नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेन्मेन्टका सीईओ निशुकान्त झाले जानकारी गराए ।
भट्ट रिवन इन्टरटेन्मेन्ट प्रालिद्वारा केहीअघि राजधानीमा भव्यताका साथ सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२५ प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता भएकी थिइन् ।
मिसेस वर्ल्ड २०२६ मा नेपालकोे गौरवमय प्रतिनिधित्व गराउनेबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएअनुसार भट्टको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा उनलाई मिसेस वर्ल्डमा प्रतिनिधित्व गराउने निर्णय गरिएको हो ।
प्रतियोगिताको तयारी स्वरूप मिसेस् नेपाल भट्टले विभिन्न अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरूबाट व्यक्तित्व विकास, र्याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस तथा ग्रूमिङसम्बन्धी प्रशिक्षण लिइरहेकी छन् । उनले प्रतियोगितामा प्रस्तुत गर्ने राष्ट्रिय पोशाक (नेशनल कस्ट्युम)को डिजाइन आईआईएफटी नेपालद्वारा तयार पारिँदैछ भने अन्य विभिन्न चरणमा प्रयोग हुने पहिरन सेन्ट्रल फेशन स्कूल तथा अन्य प्रख्यात फेसन डिजाइनरहरूसँगको समन्वयमा व्यवस्थापन गरिएको छ । यसअघि पनि नेपालबाट पृथिविया थापा र दीक्षा केसीले मिसेस वर्ल्डमा सहभागी भई नेपालको प्रतिनिधित्व गरिसकेका छन् । यसपटक मिसेस् नेपाल भट्टले सो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप मजबुत बनाउने अपेक्षा आयोजकले गरेका छन् ।