काठमाडौं । लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’मा सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक मार्मिक र प्रेरणादायी प्रस्तुति देखाइएको छ ।
सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन् । नविनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए ।
विवेकको उपचारदेखि अन्तिम बिदाइसम्म सृजनाले देखाएको समर्पणले हजारौं दर्शकलाई भावुक बनाएको थियो । सोही भावनालाई नविनाले यति सजीव ढंगले प्रस्तुत गरिन् कि स्टुडियो नै स्तब्ध बन्यो । विशेषगरी अन्तिम दृश्यमा उनले विवेकलाई अन्तिम बिदाइ दिँदै गरेको क्षणलाई जसरी प्रस्तुत गरिन्, त्यसले सेटमा उपस्थित सबैलाई रोइरहन बाध्य बनायो । केही समय छायांकन समेत रोक्नु परेको जानकारी प्राप्त भएको छ ।
यस प्रस्तुति अघि नविनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराइयो । भेटका क्रममा सृजनाले सम्पूर्ण घटनाक्रम सुनाउँदै आफ्नो पीडादायक तर प्रेरणादायी कथालाई सार्वजनिकरूपमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन् । शोको टिमले सोही आधारमा प्रस्तुति तयार गरेको थियो ।
‘एक्टिङ स्टार’ले यस्ता यथार्थपरक जीवनकथाहरूलाई मञ्चमा ल्याउँदै गर्दा नेपाली टेलिभिजनमा वास्तविकता र संवेदनशीलताको नयाँ युगको सुरुआत गरेको देखिन्छ ।
आयोजक महक मिडिया नेटवर्कका अनुसार शोमा नेपालका हिमाल, पहाड, तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजारभन्दा धेरै प्रतियोगीले अडिसन दिएका थिए । छनोट प्रक्रियापछि अहिले १३ जना उत्कृष्ट प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरिसकेका छन् ।
शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण भइरहेको छ ।
नेपालभित्रबाट भोट गर्न ‘ओएसआर कनेक्ट’ एप डाउनलोड गरी ‘एक्टिङ स्टार’मा क्लिक गरेर मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ । विदेशबाट भोट गर्न ‘सिनेमाघर’ एप प्रयोग गर्न सकिनेछ ।
विजेताले नगद २० लाख रुपैयाँसहित चलचित्रमा अवसर प्राप्त गर्नेछन् । फर्स्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
‘पहिलो एक्टिङ स्टार को हुने ?’ अब यसको निर्णय दर्शककै हातमा रहेको आयोजक महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।