काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।
बुधबार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको तीन डिजाइनका पोस्टर सार्वजनिक गरेको हो । तीनमध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । अर्को एक पोस्टरमा भने चलचित्रका सबैजसो कलाकार अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ । पोस्टरहरुले चलचित्र कमेडी र सस्पेन्सले भरिएको लाग्दछ ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रमा मुकुन, सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतले अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनिता सापकोटा र रामनारायण उपाध्यायले लगानी गरेका छन् । उदयविक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेका छन् ।
चलचित्रको सहनिर्मातामा यम ओली, सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदिपकुमार सापकोटा छन् । शेरबहादुर तामाङले छायांकन गरेको चलचित्रमा बन्दे साह र सुजन वडालको सम्पादन, राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।