फिल्म ‘पार्वती’को दुई पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा

रंग नेपाल २०८२ साउन २६ मा प्रकाशित

काठमाडौं । रक्षा बन्धनको अवसर पारेर नीता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’को दुई फरक मूडका पोस्टर सार्वजनिक भएको छ ।

नायिका नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणासहित २ पोस्टर सार्वजनिक गरिएको हो । निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ ।

सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन् । यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ ।

दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदासहित प्रस्तुत भएकी छन्, जसले उनको निरासता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ ।

फिल्मको कथा तीता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन् । निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।

असोजबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक को–को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन् । निर्देशक अधिकारीका अनुसार केही दिनमा कलाकार तथा थप प्राविधिकहरुको जानकारी दिइनेछ । उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर एफडी कम्पनी रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट