काठमाडौं । विवाहित महिलाहरुको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आगामी साउन ३१ गते अडिसन गरिने भएको छ ।
अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । इच्छुकले खल्ती एपमार्फत, रिबन इन्टरटेनमेन्टको वेबसाइट वा आयोजकको शंखमूलस्थित कार्यालय तथा सोही दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन् । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञले नियमित तालिम दिनेछन् ।
गंगा महर्जन र सम्राट शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ । यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानमा हुनेछ । सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरू पनि घोषणा गरिनेछ ।
आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाका अनुसार यस वर्ष पनि मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागी हुने मौका पाउनेछन् ।
मिसेस वर्ल्ड २०२२ मा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिइन् भने मिसेस वर्ल्ड २०२३ मा पृथ्वीया थापाले सहभागीता जनाएर मिसेस ह्युमनिटरियन उपउपाधि अवार्ड प्राप्त गर्न सफल भएकी थिइन् । यस वर्ष डेनिला कार्कीले मिसेस वर्ल्ड २०२५ मा प्रतिनिधित्व जनाउने छिन् । साथै, विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन् ।