काठमाडौं, ३० भदौ । जेनजी आन्दोलनका कारण बन्द रहेको देशभरका फिल्म हल आजदेखि खुलेका छन् ।
आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।
महर्जनले रात्रिकालीन शोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन् ।
यसैबीच, दशैंको अवसर पारेर फूलपातीदेखि भने तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् ।
जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको नेपाल चलचित्र संघले जनाएको छ ।