
काठमाडौं । निर्देशक जौन योञ्जनको निर्देशनमा बनेको नेपाली फिल्म ‘आँखा’ले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सफलता प्राप्त गरेको छ ।
हालै मलेसियामा सम्पन्न ६२ औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा यस फिल्मलाई ‘उत्कृष्ट फिल्म’ घोषित गर्दै अवार्ड प्रदान गरिएको छ । फिल्मकी मुख्य अभिनेत्री स्मिता लामिछानेले अवार्ड ग्रहण गरेकी थिइन् ।
फिल्मले अवार्ड जितेपछि अभिनेत्री लामिछानेले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘यो हाम्रो सम्पूर्ण टिमका लागि निकै ठूलो उपलब्धि हो । यो कथा र हाम्रो यस यात्रामा विश्वास गर्ने सम्पूर्ण कलाकार, प्राविधिक टोली र प्रिय दर्शकहरूलाई म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
स्मितासँगै पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको यो फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, सङ्घर्ष र यथार्थलाई गहिरो रुपमा चित्रण गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न नसकेको भए पनि समीक्षा राम्रो पाएको थियो ।
सोही फेस्टिभलमा अर्को नेपाली फिल्म ‘शाम्बाला’ले पनि अवार्ड जित्न सफल भएको छ । मीन बहादुर भामको निर्देशनमा बनेको यो फिल्मले ब्याकग्राउन्ड स्कोर विधामा अवार्ड प्राप्त गरेको हो । फिल्मले यसअघि राष्ट्रिय अवार्डसहित लोकार्नो, निफ लगायतका प्रतिष्ठित फेस्टिभलमा अवार्ड जितिसकेको छ ।