
काठमाडौं । सुन्धाराको काठमाडौं मलबाट सुरु भएको एउटा सानो सपना आज १८ वर्षपछि सौन्दर्य सेवाको एउटा स्थापित ब्रान्डमा रूपान्तरण भएको छ । ‘रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयर’ले यही विश्वास, निरन्तरता र मेहनतको यात्रालाई अघि बढाउँदै बिहीबार काठमाडौंको हात्तिगौँडा, बुढानीलकण्ठमा आफ्नो चौथो आउटलेट सञ्चालनमा ल्याएको छ।
रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसर पारेर सुरु गरिएको नयाँ शाखाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले गरेका थिए । सौन्दर्य, कला र व्यवसायको संगम बनेको उक्त कार्यक्रममा उत्साह र आत्मीयताको वातावरण देखिन्थ्यो ।
कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ व्यूटिसियन रश्मिला श्रेष्ठ भावुक देखिइन् । उनले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौं मलबाट सुरु गरिएको यात्राका अनेक उतार–चढाव सम्झिँदै भनिन्, “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। यही विश्वासले आज चौथो शाखासम्म आइपुग्यौँ ।”
काठमाडौं मलपछि गोँगबुको बिजी मल र बालाजु बसपार्कस्थित बुद्ध मल हुँदै हात्तिगौँडासम्म आइपुग्दा रश्मिलाज फेसियल हाउस केवल पार्लर मात्रै रहेन, बरु अन्तर्राष्ट्रियस्तरको सेवा दिने सौन्दर्य केन्द्रका रूपमा चिनिन सफल भयो ।
हात्तिगौँडाको शाखा समी रेग्मी अधिकारी, अध्यक्ष रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठको साझेदारीमा सञ्चालनमा ल्याइएको हो । झण्डै २० वर्ष अमेरिका बसेर स्वदेश फर्किएकी समी रेग्मीले “नेपालमै केही गर्न सकिन्छ” भन्ने विश्वासलाई व्यवहारमा उतार्दै यो शाखा विस्तार गरेकी हुन् ।
“आफू बसोबास गर्ने क्षेत्रमै गुणस्तरीय व्यूटी सेवा दिन पाउँदा गर्व लागेको छ,” उनले भनिन् । उनले सेवाग्राहीका लागि पर्याप्त पार्किङ सुविधासमेत रहेको जानकारी दिइन् ।
उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउसको सेवाग्राही रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय गुणस्तरको सेवा नै यसको पहिचान भएको बताए ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले “गुणस्तर र निरन्तरताकै कारण म वर्षौंदेखि रश्मिलाज फेसियल हाउससँग जोडिएकी छु,” भन्दै नयाँ शाखाको सफलताको शुभकामना दिइन् ।
अभिनेत्री बेनिशा हमालले पनि काठमाडौं मलबाट सुरु भएको सेवाको यात्रा चौथो शाखासम्म आइपुग्नु गर्वको विषय भएको बताइन् ।
१८ औँ वार्षिक उत्सवलाई विशेष बनाउँदै कार्यक्रममा रश्मिलाज फेसियल हाउसका तीनवटै अघिल्ला शाखामा कार्यरत कर्मचारी, व्यूटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
रश्मिलाज फेसियल हाउसले निकट भविष्यमा काठमाडौं बाहिर मात्र होइन, विदेशमा समेत शाखा विस्तार गर्ने योजना बनाइरहेको छ । १८ वर्षअघि सुरु भएको रश्मिलाज फेसियल हाउसको एउटा सपना अब सीमाना नाघ्दै नयाँ उचाइतर्फ अघि बढिरहेको छ ।