
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कवितामाथि सामाजिक सञ्जालमा भइरहेका शरीरसम्बन्धी टिप्पणीप्रति कडा असन्तुष्टि जनाएकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कसैको अवस्था नबुझी उसको रूप, शरीर वा अस्तित्वमाथि टिप्पणी गर्नु अमानवीय भएको उल्लेख गरेकी छन् । सौन्दर्य कुनै एक ढाँचामा सीमित नहुने भन्दै विविधता नै समाजको शक्ति भएको उनको भनाइ छ ।
करिश्माले आफ्नो छोरी जस्तो छ, त्यही रूपमा बाँच्न पाउनु उसको अधिकार भएको उल्लेख गर्दै नकारात्मक टिप्पणीले मानसिक असर पार्ने बताएकी छन् । यस्ता गतिविधिले आफू वा परिवारलाई मानसिक क्षति पुगे कानुनी प्रक्रिया अपनाउन सक्ने अधिकार आफूमा रहेको पनि उनले स्पष्ट पारेकी छन् ।
उनले आफ्नो सन्तानप्रति सचेत हुनु वा आफू जस्तो छ, त्यही रूपमा बाँच्न चाहनु अपराध नभएको स्पष्ट पारिन् ।
उनले भनेकी छिन्, ‘हामी जे जस्ता छौँ, प्रकृतिले बनाएका हौँ । त्यसमा हामीलाई कुनै गुनासो छैन । यसैमा हामी सन्तुष्ट र खुसी छौँ । तपाईंलाई मन पर्दैन भने नहेर्नुस् । तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईंमै पर्छ ।’