
काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता प्रमोद अग्रहरी आफ्नो अब्बल अभिनयमा कारण दर्शकका मनमा दिर्घकालीन छाप छोड्न सफल बन्दै गएका छन् ।
रंगमञ्चबाट उदाएका अग्रहरीले २०१३ मा प्रदर्शन भएको चलचित्र ‘उमा’बाट आफ्नो करियर सुरु गरेका हुन् । उक्त फिल्मले उनलाई सिने क्षेत्रमा पहिचान दिलायो । उनी प्रायः खलनायकको भूमिका देखिन्छन्, नकारात्मक भूमिका निर्वाह गरेका कारण उनी चिनिएका छन् ।
वास्तवमा भन्ने हो भने उनले निभाएका खलनायक पात्रहरू दर्शकले नायकभन्दा बढी रुचाएका छन् । भावनात्मक गहिराई, शक्तिशाली संवाद प्रस्तुत, शारीरिक हाउभाउ र अब्बल अभिनयका कारणले पनि उनलाई बढी रुचाइएको हो । नकारात्मक भूमिकामा उनी अभिनय मात्र गर्दैनन्, पात्रमै बग्छन् ।
नकारात्मक पात्रका पीडा, क्रूरता, द्वन्द्व र मौन आक्रोशलाई उनले सजिलै आत्मसाथ गर्न सक्छन् । उनका आँखामा बोल्ने आगो, संवादभन्दा भारी मौनता, र स–साना हाउभाउले दर्शकलाई असहज बनाइदिन्छ र यही असहजता नै सफल नकारात्मक पात्रको पहिचान बन्न पुग्छ । उनको अभिनय राष्ट्रियस्तरमा मात्र अब सिमित रहेन ,अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा पनि आफूलाई स्थापित गर्न उनी सफल भएका छन् । बंगलादेशी फिल्म ‘हाङ्गोर’मा अभिनय गर्दै बंगलादेशको ढलिउड फिल्म उद्योगमा अग्रहरीले डेब्यू गरेका हुन् । ‘हाङ्गोर’ मा पनि उनले आफ्नो पहिचानअनुसार कडा र चुनौतीपूर्ण चरित्र निर्वाह गरेको छन् ।
उनले आफूलाई दुई तीन वर्ष अगाडिदेखि नै‘हाङ्गोर’मा अफर आएको भन्दै कथावस्तुले आफूलाई आकर्षित गरेको जानकारी दिए । उनले भने, ‘दुई–तीन वर्ष अगाडिदेखि नै कुराहरू भइरहेको थियो । उहाँहरू नेपाल पनि आउनुभएको थियो र भेट भयो । सुहाउँदो क्यारेक्टरका विषयमा गफ भएको थियो । त्यसपछि तयारीहरू सुरु भएको थियो , मलाई यस चलचित्रको कथावस्थुले नै आकर्षित गरेको थियो ।’ फरक भाषा र सांस्कृतिक परिवेशमा अभिनय गर्नु कुनैपनि कलाकारका लागि सजिलो हुँदैन । बंगलादेशी फिल्ममा काम गर्नु प्रमोदका लागि केवल नयाँ बजारमा प्रवेश मात्र होइन, भाषा र संस्कृतिको ठूलो चुनौती पनि थियो ।
उनी भन्छन् ,‘अरूको भाषामा काम गर्दा कठिन नै हुन्छ । मार्केटको बारेमा थाहा हुँदैन । काम गर्ने तरिका थाहा थिएन । चुनौती धेरै थियो । आफूलाई प्रमाणित गर्नको लागि अनि एउटा भाषादेखि लिएर सबै कुराहरूमा काम गर्नुपर्ने भएको हुनाले अप्ठ्यारो थियो । तर अप्ठ्याराहरूलाई चिर्दै, पार गर्दै राम्रो प्रोजेक्ट तयारी भयो ।’
त्यस्तै, आफ्नो फिल्ममार्फत नेपाली इन्डस्ट्रीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्नु नै आफ्नो ठूलो सफलता भएको उनी ठान्छन् । ‘म एकदमै खुशी छु । इन्टरनेसनल मार्केटमा आफ्नो उपस्थिति र इन्डस्ट्रीलाई त्यहाँसम्म पुर्याउन सक्नु खुशीको कुरा हो । यसैलाई लिएर मापदण्ड या त्यसको मापन गर्नु ठीक लाग्दैन । कसरी हुन्छ आफ्नो कामलाई मात्र नभइ फरक भाषामा काम गर्न पाउनु राम्रो कुरा हो । आफ्नो देशलाई र कलालाई त्यहाँसम्म पुर्याउन पाउनु एवम नेपाली सिनेमाको एउटा नयाँ मार्केट खोज्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने ।
फिल्मको मानसिक र शारीरिक तयारीका लागि विगत दुई वर्षदेखि आफू लागेको उनले सुनाए । यसमा थप्दै उनले भने ,‘दुई वर्ष त म मानसिक र शारीरिक रुपमा तयारीमा थिएँ’
आफ्नो क्षमता र कला प्रदर्शनका लागि कुनै देश वा भाषाले नछेक्ने उनको अनुभव छ । उनको यो अनुभवले नेपाली कलाकारहरू अन्तर्राष्ट्रिय बजारमा जाँदा भाषा बाधा होइन, चुनौती मात्र हो भन्ने सन्देश दिएको छ । मेहनत, तयारी र आत्मविश्वास भए फरक भाषा र संस्कृतिमा पनि नेपाली कलाकारले आफूलाई स्थापित गर्न सक्ने उनी बताउँछन् ।
उनका अनुसार फिल्ममा मछुवाहरूहरुको कथा समेटिएको छ । एउटा सही मान्छे कसरी गलत ट्रयाकमा जान्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ । उनले भने, ‘एउटा नर्मल मान्छे, फिशरम्यान हुन्छ । मछुवाहरूकाृ कथा त्यसमा समेटिएको छ । एउटा सही मान्छे कसरी गलत ट्रयाकमा जान्छ भन्ने कुराहरू देखाइएको छ ।’
ईद पर्वका अवसरमा प्रदर्शन गर्न लागिएको यस फिल्म नेपालमा पनि प्रदर्शन गर्ने तयारी थालिएको छ । फिल्मले दर्शकको मन जित्न सफल हुने कुरामा अग्रहरी विश्वत छन् । इन्टरनेसनल मार्केटमा नेपाली इन्डस्ट्रीको लागि एउटा सानो नयाँ बजार खोज्ने कोसिस आफुले गरेको उनले बताए । आफू नितान्त एउटा कलाकार भएर बाँच्न चाहने मान्छे भएको भन्दै उनी ‘हिरो’ वा ‘भिलेन’ जस्ता ट्याग आफूमाथि लगाउनु भन्दा पनि एउटा राम्रो कलाकारको ट्याग आफूले चाहेको र पाइपनि राखेको धारणा राखे ।
बंगलादेशी फिल्ममा नेपाली कलाकारको सहभागिता आफैंमा दुर्लभ मानिन्छ । त्यसमा पनि प्रमुख भूमिकामा देखिनु उनको करियरका लागि मात्र होइन, नेपाली सिने उद्योगका लागि पनि गर्वको विषय बनेको छ ।
नेपाली चलचित्र क्षेत्रमा खलनायकको भूमिकामा दर्शकको मन जित्न सक्ने उनी एकमात्र अभिनेता हुन् । आज प्रमोद अग्रहरीको नाम नकारात्मक भूमिकाको सन्दर्भमा सम्मानका साथ लिइन्छ । उनले प्रमाणित गरेका छन् नायक बन्न सबै सक्छन्, तर खलनायकलाई अमर बनाउन सक्ने कलाकार थोरै हुन्छन् । र ती थोरैमध्ये प्रमोद एक सशक्त नाम हुन् ।