
काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो ।
छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन् ।
निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए । उनका अनुसार फिल्मको छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा हुनेछ ।
यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुने निर्माण पक्षले जानकारी दिएका छन् । यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन् ।
सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहनेछ । यस फिल्मको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहेको छ ।
फिल्मको रिलिज मिति भने निर्माण पक्षले छायांकन सकेपछि तोक्ने बताइएको छ ।