![]()
काठमाडौं । पारिवारिक कथावस्तुमा आधारित टेली चलचित्र ‘संस्कार’को ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सरोज दाहालको लेखन तथा निर्देशनमा तयार भएको टेली चलचित्र ‘संस्कार’ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्यमान्यता र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ । चलचित्रका निर्माता आरजे सिंह र निर्मला खाती रहेका छन् भने छायांकनको जिम्मा निर्मल ढकालले सम्हालेका छन् । सम्पादन समेत निर्देशक दाहाल स्वयंले गरेका हुन् ।
टेली चलचित्रमा प्रयोग भएका गीतहरूमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर रहेको छ भने ब्याकग्राउण्ड म्युजिक सुरजकुमार त्रिखत्रीले तयार पारेका हुन् । ‘हार्मोनिक डिजिटल रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको संगीतले कथालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । प्रकाश व्यवस्थापन नरेन्द्र शाहीले सम्हालेका छन् ।
कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरजकुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय रहेको छ ।
ट्रेलरमार्फत पारिवारिक कथा, भावनात्मक उतारचढाव र समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको देखिन्छ ।
निर्माण टिमले टेली चलचित्रले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ । ट्रेलर सुवर्ण टिभीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सिरियल प्रत्येक शुक्रबार साँझ सुवर्ण टिभीको अफिसियल च्यानलमार्फत सार्वजनिक हुनेछ ।