चलचित्र ‘कुम्भ’ जेठ १५ देखि प्रदर्शन हुने

रंग नेपाल २०८२ चैत २४ मा प्रकाशित

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।

एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रको नेपाल र साउथ इन्डियामा छायांकन गरिएको चलचित्रमा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय रहेको छ ।

चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् ।

चलचित्रको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट