
काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । आहा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘गंगारानी’को औपचारिक घोषणा गरिएको हो ।
राष्ट्रिय पुरस्कार विजेता लेखक तथा निर्देशक सानेकै लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘गंगारानी’ आगामी जेठको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको छ । प्रेमकथामा आधारित यस चलचित्रका कलाकार तथा अन्य प्राविधिकहरू भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिए ।
चलचित्रको औपचारिक घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन् । चलचित्रमा एक गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताएका छन् ।
निर्देशक सानेले झण्डै एक दर्जन चलचित्रमा काम गरिसकेका छन् । उनले ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका चलचित्रमा आफ्नो योगदान दिइसकेका छन् । चलचित्र ‘बुलाकी’बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए ।