
काठमाडौं । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ । बिहीबार निर्माण टिमले एक कार्यक्रमम गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो ।
सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । जहाँ फिल्मका मुख्य पात्र सुहाना थापा र प्रकाश सपुतबीचको घरझगडा देखिन्छ । छिमेकी बनेका सौगात मल्ल र सिर्जना अधिकारीलाई एकदमै मिलेको जोडी देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देकिन्छ । मार्मिक ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ । आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन् ।
त्यसैगरी, फिल्मको भिएफएक्स समिर मिया, सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन् । ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरेले निर्माण संयोजनको काम गरेका छन् । यो फिल्ममा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पार्श्व संगीत किरण तुलाधर, संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ । फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन् ।
फिल्ममा भेषभूषा डिजाइन सुजन परियार, श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन् । यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतीक चौधरी रहेका छन् । मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने ओएसआरले ओटीटी राईट लिइसकेको छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।