
काठमाडौं । कमेडी दरबारको पर्दामा देखिएर चर्चामा आएका कमेडियन सुन्दर खनालले आफ्नो छुट्टै हास्य शो लिएर आउने भएका छन् । उनले एक टिजर सार्वजनिक गर्दै शोबारे छोटो जानकारी दिएका हुन् ।
खनालको शोको नाम ‘कमेडी बाज’ रहेको छ । शोको सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । तर शोको फर्मेटबारे भने जानकारी गराइएको छैन । बुझिए अनुसार कमेडी बाज रोस्टिङ शो हुनेछ । विभिन्न क्षेत्रका पाहुनाहरुलाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ ।
शोबारे सुन्दर भन्छन्, ‘शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ । अहिलेका लागी यत्ति भनौँ बाँकी पूरा एपिसोडमा हामीले अवश्य देखाउने नै छौँ ।’ सुन्दरका अनुसार शो ईमेज टेलिभिजन र सुन्दर खनाल युट्युवमार्फत सार्वजनिक गरिनेछ ।
टिजरमा शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ । साथै, अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकारहरु पनि हुनेछन् । शो यही वैशाखको दोस्रो सातादेखी प्रसारण हुने भनिएको छ ।
कमेडी बाजमा देखिएका अधिकांश कमेडियनहरु कमेडी दरबारमा आबद्ध छन् । यसबारे भने उनीहरुले दुवै शोमा देखिने प्रष्ट पारेका छन् ।