
काठमाडौं । फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन् । उनले पहिलोपटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन् । त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् ।
‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन । प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’ मल्लले भने, ‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पथ्र्यो । बाहिर जाँदाखेरि उहाँको गीतहरु सुन्थेँ । त्यहाँबाट नै उहाँका नाम मलाई याद भएको थियो । पछिसँगै फिल्ममासँगै खेल्न पाइयो, सजिलो ।’
प्रकाशले यसअघि निकै फिल्ममा अभिनय गरिसकेका छन् । तर उनको अभिनयबाट पनि सौगात प्रभावित भएका रहेछन् । ‘त्यस्तो केही गाह्रो भएन । मिलेर हामीले काम गर्यौँ,’ सौगातले भने, ‘सुहानासँग पनि एकदमै सजिलो भयो काम गर्न । त्यस्तो केहि गाह्रो भएन । गाउँमा एक महिना जस्तो बस्दाखेरि उनको अभिनय र काम गराई राम्रो लाग्यो ।’
सौगातले सुहानालाई अघिल्लो पुस्ताकी अभिनेत्री झरना थापाको झलक पाएको बताए । मेहनती रहेको र पछिल्लो समयकी राम्रो अभिनय गर्ने कलाकारमा सुहाना रहेको बताए । फिल्मको गीत, तथा ट्रेलर मेकिङ हेरेका सौगातले भने, ‘जहाँसम्म लाग्छ । अहिलेको राम्रो कलाकार हो । सुहाना थापासँग फिल्ममा अभिनय गर्दा पनि मलाई फिल भएको कुरा हो ।’
उनले निर्देशक सुनारसँग ‘कल्ली’भन्ने फिल्ममा काम गरेको र बुझ्ने मौका पाएको बताए । त्यसले गर्दा पनि यस्तो विषयमा आफूले काम गर्न राजी भएको बताए । उनले थपे, ‘म पनि उत्सुक छु । मलाई पनि थाहा छैन केही ? कस्तो भएर आयो होला ? पढेको मात्रै त होनी हामीले । हेरिएकै छैन केही पनि । राम्रो फिल्म हेर्ने दर्शक पनि हो म । पक्कै पनि राम्रो फिल्म बनेको छ ।’
सौगातको अघिल्ला फिल्मको तुलनामा यस फिल्ममा बिल्कुलै फरक अभिनय गरेका छन् । उनी आफै पनि यो फिल्म दर्शकमाझ चर्चामा रहने र आफूलाई दर्शकले रुचाउने कुरामा विश्वस्त देखिन्छन् । सुशील पोखरेलको निर्माण रहेको यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । फिल्मको कथा अनुसार कुनै कुरामा पनि निर्माण पक्षबाट कन्ज्युँस्याई नगरेको सौगात बताउँछन् ।
गुरुप्रसाद मैनालीको ‘परालको आगो’ अमरकृति कथा आफैमा बुलन्द रहेकाले यस फिल्ममा काम गर्न पाउनु आफैमा गौरवको विषय बनेको उनी बताउँछन् । फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । फिल्म वैशाख ११ गतेबाट हलमा लाग्दैछ ।