
काठमाडौं । नेपाली हास्यब्यंग्यको इतिहासमा सबैभन्दा लामो समय प्रशारण भइरहेको नेपाली टेलीश्रृङ्खला ‘मेरी बास्सै’ले आफ्नो प्रशारणको ७८०औँ भाग पूरा गरेको छ । गएको मंगलबार मेरी बास्सैले ७८०औँ भाग पूरा गरेको हो । यसै भागदेखि नेपाली चलचित्रका प्रख्यात खलनायक मुकुन्द श्रेष्ठको प्रवेश भएको छ ।
मेरी बास्सैले आफ्नो कथावस्तु, प्रस्तुती, कलाकारलगायत विषयमा निकै ध्यान दिने गरेको देखिन्छ । हास्यब्यङ्ग्यसँगै सामाजिक जनचेतनामुलक सामग्री प्रस्तुत गरिरहेको मेरी बास्सैमा अब मुकुन्द श्रेष्ठ बडा काजीको भूमिकामा देखिने बताइएको छ ।
मेरी बास्सैका मुख्य मध्यका एक कलाकार काजी बा अर्थात् रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने देखिएपछि यो टीमले मुकुन्द श्रेष्ठलाई भित्र्याएको हो । ‘श्रृखंलामा काजीको भूमिका दमदार देखिनुपर्छ र मुकुन्द श्रेष्ठलाई त्यो सुहाउने भएकाले उनलाई लिएका हौँ,’ मेरीबास्सैका निर्देशक दिवाकर भण्डारीले भने, ‘अब सधैं हुने नहुने बिषय टुंगो लागेको छैन्, अग्रज कलाकार हामीसँग रहनुपर्छ भन्ने मेरो चाहाना हो ।’मुकुन्द श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका नाम चलेका खलनायक हुन् । दशकअघि यिनले गरेका चलचित्रहरूमा यिनी डरलाग्दो रूपमा प्रस्तुत छन् । मुकुन्द श्रेष्ठले सयौं सफल चलचित्रमा खलनायकको भूमिकामा आफूलाई प्रस्तुत गरिसकेका छन् ।
यिनको व्यत्तित्व र डायलग डेलिभरीले दर्शकमा समेत डर पैदा गर्ने गथ्र्यो । लामो समय हराएका मुकुन्द श्रेष्ठ मेरी बास्सैमा देखिनु उनका फ्यानका लागी खुशीको कुरा हो । उनी कहिलेसम्म मेरीबास्सैमा रहन्छन् भन्ने कुराको भने टुंगो छैन् ।सापटी काका अर्थात् दीवाकर भण्डारीको निर्देशनमा तयार भइरहेको मेरी बास्सैमा सुरवीर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, पल्पसा डंगोल, निरु खड्का, टीका भक्त जिरेललगायत कलाकारहरू देख्न सकिन्छ । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभजनबाट प्रशारण हुँदै आएको छ ।