काठमाडौं । मंसिर २७ गते एक जोडीले अस्पतालमा विवाह गरेको तस्वीर तथा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अस्पतालमै बिवाह गर्ने यो जोडी हो नविन र इंकाको । नेपालका नविन गिरी र जर्मनीकी इंकाबीच ह्याम्स हस्पतालमा बिवाह भएको हो । उनीहरुको मंसिर २७ गते चन्द्रागिरिमा धुमधामसँग विवाह गर्ने तय भएको थियो । तर, नविनलाई २६ गते राति एपेन्डिसाइिटस भएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
विवाहका लागि आफन्त र साथीभाइलाई पनि दुवै पक्षले चन्द्रागिरिमा बोलाइसकेका थिए । विवाहका लागि इंकाका बुबाआमा र ठूली आमा पनि जर्मनीबाट काठमाडौं आएका थिए । २६ गते राति नै नविनको शल्यक्रिया गर्नुपरेपछि उनको विवाह के गर्ने भन्ने अन्योल भएको थियो ।
बिवाहको पार्टी, भोज सबै रद्व गरियो । तर छोरीको बिवाहका लागि नेपाल आएका इंकाका बुबाआमासँग धेरै समय थिएन । जसले गर्दा उनीहरुले अस्पतालमै २७ गते नै बिवाह गर्ने तय गरे । त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नविन र इंकाबीच विवाह सम्पन्न भयो । उनीहरुको विवाहमा अस्पतालका डाक्टर, नर्सहरु पनि उपस्थित भएका थिए । नेपालमा अस्पतालमै विवाह भएको यो सम्भवत: पहिलो विवाह हो ।