निराकरले भिडियोकलमा छोरालाई ‘राम्रो मान्छे बन्नु’ भने अनि क्यासिनोको १२ तलाबाट हामफाले

रंग नेपाल २०७९ पुष १५ मा प्रकाशित

काठमाडौं । कम्बोडियाको पोइपेट सहरको क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् । ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । भिडियोमा पाण्डेले कुरा गर्दागर्दै कोठामा धुँवा भरिएको देख्न सकिन्छ । होटल परिसरमा दमकलको साइरन पनि सुनिन्छ । कतैबाट निस्कने बाटो नपाएपछि अन्तिम अवस्थामा पाण्डेले परिवारसँग कुराकानी गरेर हाम फालेका हुन् । उनले अन्तिममा छोरालाई आफूले धेरै मायाँ गर्ने भन्दै राम्रो मान्छे बन्न आशिर्वाद थिएका थिए ।

‘मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू । माइजुहरूलाई चित्त नदुखाउनू । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले  । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नू  । ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु,’ उनले भिडियोकलमा छोरालाई भनेका छन् ।

आगलागीमा पाण्डेसहित २४ जनाको मृत्यु भएको छ । पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ । पाण्डे एकमहिनाअघि कम्बोडिया पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट