काठमाडौं । प्राचीन नगर शङकरापुरको साँखुस्थित शालीनदीमा आज शुक्रबारदेखि माधवनारायण मेला सुरू भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुक्रबारदेखि सुरु भएको हो ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
माधवनारायणको पूजा आराधनाका लागि उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । काठमाडौंलगायत विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्ने गर्दछन् ।
पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मर्त्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।