फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर

रंग नेपाल २०७९ माघ १५ मा प्रकाशित

काठमाडौं । नेपालमा हरेक वर्ष फिल्म महोत्सव हुने सङ्ख्या बढ्दो छ । स्वदेशी तथा विदेशी फिल्मसहित महोत्सवको आयोजना गरिँदै आएका छन् ।

महोत्सवले नेपाली फिल्मकर्मीलाई विदेशीसँग साक्षात्कार गर्ने मौका प्रदान गर्ने अभिनेत्री गौरी मल्लको तर्क छ । महोत्सवमा विदेशीलाई कथा सुनाउने व्यवस्था गरिदिन उनले आग्रह गरिन् । ‘हाम्रो कथालाई विदेशी फिल्म मेकरसम्म पुर्‍याउने माध्यम बन्न महोत्सव उपयोगी हुन् सक्छन् । यस किसिमको व्यवस्था गरे नेपाली कथाले विश्व बजारमा स्थान र लगानी पाउने थियो’, अभिनेत्री मल्लले भनिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी महोत्सवले संस्कृति आदान प्रदान गर्ने जानकारी दिए । ‘महोत्सवले हाम्रो संस्कृतिप्रति विदेशीलाई आकर्षण गर्न सक्छ । हामीले महोत्सवमा नेपालको संस्कृति देखाउन सक्नुपर्छ’, बोर्ड अध्यक्ष केसीले भने ।

अभिनेता तथा निर्देशक नीर शाहले महोत्सवको सङ्ख्याभन्दा गुणस्तरियता बढाउनुपर्नेमा जोड दिए । ‘आयोजना हुने महोत्सवले फिल्मकर्मीलाई गुणस्तरीय फिल्म बनाउन प्रेरित गर्नुपर्छ । सङ्ख्या बढ्नु हाम्रो उपलब्धि होइन । फिल्मकर्मीको स्तरीयता बढ्नु जरुरी छ’, अभिनेता शाहले भने ।

गैँडाको उपनामले परिचित हास्य कलाकार तथा निर्देशक निर्मल शर्माले निर्मातालाई उपयोगी हुने कक्षा राख्न महोत्सव आयोजकलाई अनुरोध गरे । ‘महोत्सवमा एउटा सेग्मेन्ट फिल्ममा ‘कसरी लगानी गर्ने र कसरी लगानी उठाउने’ भन्ने सम्बन्धमा हुनु जरुरी छ । यसबारे नबुझी लगानी गर्दा उहाँहरूले नकारात्मक प्रचार गरेको पाइएको छ’, हास्य कलाकार शर्माले भन्नुभयो ।

नेपालमा फिल्म, सर्ट फिल्म, थियटरसँग जोडिएका २० को हाराहारीमा महोत्सव हुने गरेका छन् । महोत्सवको सङ्ख्या बढ्दै गर्दा यसको उपलब्धि भने बढ्न सकेको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट