कवि गणेशकुमार तिमल्सिनाको ‘हार्न नसक्ने मान्छे म’को विमोचन

रंग नेपाल २०८० भदौ २२ मा प्रकाशित

मकवानपुर । मकवानपुरे कवि गणेशकुमार तिमल्सिनाको कविता तथा गजल संग्रह ‘हार्न नसक्ने मान्छे म’को विमोचन गरिएको छ । शुक्रबार हेटौंडा(११ डाङ्डुङ्गे स्थित मामाघर नेपालमा एक कार्यक्रमको आयोजना गरी मामाघरमा आश्रित पाँचजना भाञ्जाहरुले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तकको विषयमा बोल्दै पुस्तकका सम्पादक समेत रहेका कवि निमेष निखिलले तिमल्सिनाका कविता र गजलहरु उत्कृष्ट रहेको बताए । जीवन भोगाईका सुखदुखात्मक अवस्था र अनुभूतिको अभिव्यक्ति नै तिमल्सिनाको कविताको मूल भाव रहेको उनले बताए । प्रतिकुल समयसँग पौँठेजोरी खेल्ने हिम्मत र बाटो बिराएको राजनीतिले सही बाटो पहिल्याउनुपर्छ भन्ने सन्देश उनको कविता तथा गजलमा समेटिएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै कवि आरसि रिजालले तिमल्सिनाको कविता तथा गजलहरुले वर्तमान मानिसहरुको भावनालाई बोलेको बताए । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरु प्रकाशन गर्दै आइरहेका तिमल्सिनाले कृति प्रकाशन मार्फत समाजमा भएको समसामयिक विषयलाई उजागर गर्न खोजेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अनलाईन मिडिया एसोसियसन (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहालले तिमल्सिनाको कविता तथा गजल संग्रहले मकवानपुरे साहित्यमा थप योगदान दिएको बताए । उनले कविता तथा गजल मार्फत समाजमा ब्याप्त असन्तोष, राजनीतिक खिचातानीलाई ब्याङ्ग्य गर्न खोजेको दाहालको भनाई थियो ।

कार्यक्रममा बोल्दै कृतिकार तिमल्सिनाले आफुले लामो समयबाट साहित्यको क्षेत्रलाई नियालेको, विभिन्न समाचार माध्यममार्फत आफ्ना कविता, गजल सहितका साहित्यक विचारहरुलाई प्रस्तुत गर्ने गरेको बताए । ‘हार्न नसक्ने मान्छे म’ आफ्नो पहिलो पुस्तक भएको भन्दै उनले आगामी दिनमा अन्य साहित्यीक कृतिहरुको तयारी गरेको बताए । कार्यक्रम मामाघर नेपालका अर्पण पराजुलीको अध्यक्षतामा भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट