नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

रंग नेपाल २०८० असोज १३ मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रूपमा रहेको टिभी टुँडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

उनले भने, ‘यो चार/पाँच वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गइरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गइरहेका छौँ । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नुभयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

देउडा गीत, सङ्गीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई सो कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट