दोस्रो कर्णाली चलचित्र कार्यशाला सम्पन्न

रंग नेपाल २०८० फागुन ३० मा प्रकाशित

सुर्खेत । ‘दोस्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सोमबार बेलुका सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अग्रज अभिनेता भुवन केसीको मास्टर क्लाससहित उनले सहभागी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै यो कार्यशाला सम्पन्न भएको हो । केवी इन्टरटेनमेन्ट प्रालिको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा भएको यो कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग लिएका थिए ।

कार्यशालामा बोर्ड अध्यक्ष भुवन केसीले भने, ‘हरेक क्षेत्रमा हरेकले स्ट्रगल गर्छन र केही समयपछि उनीहरु अर्को क्षेत्रमा लाग्छन् । तर मैले अभिनयलाई अँगालेर चलचित्र क्षेत्रमा निरन्तर तपास्या गरेपछि आज यो स्थानमा पुगेको हुँ ।’ उनले अगाडि थपे,‘नेपाली खसभाषाको उद्गम थलो कर्णाली प्राकृतिक र संस्कृतिका हिसावले धनी प्रदेश हो । कर्णालीको कथामा बनेका क्याराभान, कालोपोथी सहित अन्य चलचित्रले अन्तराष्ट्रिय बजारमा नेपाललाई चिनाईसकेको छ ।’

चलचित्र कार्यशालामा सहभागी विधार्थीहरुले आउँदा दिनमा चलचित्र क्षेत्रमा राम्रो काम गर्ने विश्वास आफुले लिएको अध्यक्ष केसीले बताए । २०७९ सालमा आयोजना गरेको पहिलो कार्यशालाले यहाँका युवाहरुलाई चलचित्र क्षेत्रमा आकर्षित गरेपछि यसपटक उनीहरुलाई एडभान्स कोर्ष सौद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाइएको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र सेन्सर बोर्ड सदस्य भूपेन्द्र खड्काले बताए । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । यहाँको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले दोश्रो पटक पनि यो कार्यशाला आयोजना गरेका हौं ।’ खड्काले भने ।

कार्यशालामा चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रँगकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धि प्रशिक्षण दिएका थिए । प्रयोगात्मक रुपमा भएको यो प्रशिक्षणमा उनीहरुलाई दृष्य छायाँकन र स्थलगत अभ्यास सहित सम्बन्धित कला सिकाइएको थियो ।

कार्यशालामा हरेक विधार्थीले अभिनय र एक्सन कटसँगै आफ्नै कथा दृष्यगत रुपमा भनेका थिए । प्रशिक्षणका क्रममा उनीहरुले आफ्नो फिल्मको चरित्रको सृँगार पनि आफैंले गरेका थिए । अन्तिम प्रोजेक्टको रुपमा उनीहरुले ‘नो स्मोकिङ प्जिल’ र ‘डिँ«क प्लिज’ गरी दुईवटा सन्देश मुलक लघु चलचित्र निर्माण गरे । ती चलचित्रलाई कार्यशाला समापन समारोहमा प्रदर्शन गरिएको थियो ।

कार्यशालाको स्थानीय संयोजक निर्मल प्याकुरेलले यसपटकको कार्यशाला कर्णालीका उदाउँदै गरेका युवा सिनेकर्मीहरुका लागि निकै फलदायी भएको बताए । उनीहरुको सिकेको प्रशिक्षणका रिजल्ट आफुहरुले चाँडै देख्न पाउने पनि उनले बताए । प्रशिक्षार्थीमध्यबाट झरना साउदले समापन समारोहमा प्रशिक्षणको अनुभव सुनाउँदै आफुहरुले सोचेको भन्दै धेरै नै कुरा यो कार्यशालामा सिक्न पाएको बताइन् ।

कार्यशालाको समापन समारोहमा दैलेखका अग्रज गायक मोहन गौतमलाई नेपाली लोक संगीत क्षेत्रमा चार दशक भन्दा लामो समय योगदान दिएको भन्दै केवी इन्टरटेनमेन्ट प्रालिबाट बोर्ड अध्यक्ष भुवन केसीले सम्मान गरे । समारोहमा कर्णालीका अग्रज कलाकार प्रेमदेव गिरी, गँगा केसी, सम्मानित व्यक्तित्व मोहन गौतमलगायतले यो कार्यशालाले कर्णालीमा राम्रो चलचित्र, वृत्तचित्र अब निर्माण हुने विश्वास व्यक्त गरे । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट