दोस्रो ‘राष्ट्रिय आदिवासी म्यूजिक तथा फिल्म अवार्ड’ जेठ पहिलो साता हुने

रंग नेपाल २०८० चैत १ मा प्रकाशित

काठमाडौं । दोस्रो ‘राष्ट्रिय आदिवासी म्यूजिक तथा फिल्म अवार्ड २०८१’ को तयारी सुरु भएको छ ।

क्वालिटी फिल्मसले आगामी वर्षको जेठको पहिलो साता आयोजना गर्न लागेको अवार्डका लागि बुधबारबाट फारम खुला गरिसकेको छ ।

फिल्मसका अध्यक्ष उमेश गुरुङका अनुसार अवार्डका लागि आदिवासी जनजाति तथा गैर आदिवासीसमेतले तयार गरेको गीत, संगीत तथा फिल्मले आवेदन दिन सक्ने छन् । ‘तर सम्बन्धित फिल्म तथा गीत संगीतले आदिवासी जनजातिको संस्कृति समेटेको हुनुपर्नेछ’ उनले भने । आयोजकले फारम शुल्कवापत एक हजार रुपैयाँ तोकेको छ ।

अवार्डमा २०७९ चैतदेखि २०८० चैत मसान्तसम्म प्रकाशित तथा प्रसारित गीत, संगीत तथा फिल्मका कलाकार, प्राविधिक र सम्बन्धित विधाले अवार्डमा सहभागीता जनाउन पाउनेछन् ।

अवार्डमा गीत र संगीततर्फ गीत, गायक, गायिका,नवगायक–नवगायिका,गीतकार, संगीत संयोजक, संगीतकार, म्युजिक भिडियो निर्देशक,नवमोडल पुरुष–महिला, छायाकार, सम्पादक, श्रृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादनलगायतका विभिन्न विधा रहेका छन् ।

त्यस्तै फिल्मतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, संगीत संयोजक, संगीतकार, गीतकार, गायकगायिका, छायाकार, सम्पादक, पाश्र्व संगीतकार, श्रृंगार, भेषभूषा, रंग संयोजन लगायतका विधा छन् । उल्लेखित विधामा आवेदकले निवेदन दिन सक्नेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट