काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ ।
गृह मन्त्रालयकाअनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ ।
विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सूचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्याउनेलगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागि परेका छन् ।