नवल खड्काको चलचित्र ‘काँडेतार’लाई राजनीतिक आर्शीवाद !

रंग नेपाल २०७९ साउन २५ मा प्रकाशित

काठमाडौं । कलाकार नवल खड्काले पछिल्लो समय निर्माण गरेको चलचित्र ‘काँडेतार’को सफलताका लागि विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूले आर्शीवाद र शुभकामना दिएका छन् ।

देशभक्तीको भावनाले ओतप्रोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपूर्व निर्माण पक्षले बुधबार ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको समुन्नत सम्बन्धका लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो ।

रिपार्टर्स क्लब नेपालमा आयोजित उक्त विशेष कार्यक्रममा वक्ताहरू एमाले नेता एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री देवप्रसाद गुरुङ, कांग्रेस नेता एवम् संविधान सभा सदस्य रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गरेका हुन् ।

कार्यक्रममा नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले भारतसँगको सीमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । रावलले ‘शरीर देशको सीमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन्’ बोलको कविता वाचन गर्दै सीमा सुरक्षामा जोड दिए ।

उनले सीमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको बताए । उनले भने, ‘आफ्नो देशको सुरक्षाका लागि सबै देशले सीमाना बलियो बनाएका छन् । हामीले काँडेतार वा पर्खालै लगाए पनि हुन्छ । भियाना महासन्धि अनुसार सीमा लागू गरेर पनि सीमाको सुरक्षा हुनसक्छ । हामीले हाम्रो देशको प्रधानसेनापतिको अभिव्यक्ति पनि सुन्यौं । नेपाली सेना हाम्रो भरपर्दो शक्ति हो । प्रधानसेनापतिले एउटा कार्यक्रममा भन्नुभयो– हाम्रो देशको सीमानामा काँडेतार लगाउनुपर्छ । उहाँले भन्नुको अर्थ, सीमानाले अब पूर्ण सुरक्षा खोजिरहेको छ भन्ने हो । मलाई पनि यो लागेको छ ।’

रावलले धेरै राष्ट्रहरूले आफ्नो सीमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सीमानाको राम्रो सुरक्षा गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो छिमेकी भारतले पनि उसको सीमानामा काँडेतार लगाएको छ । सीमा सुरक्षा नभएसम्म नागरिक ढुक्क हुने भावना हुँदैन, त्यसैले राज्यले सीमा नियमन र नियन्त्रणको लागि काम गर्नुपर्छ । सीमा नियमन गर्नका लागि थुप्रै कानून र सन्धि छन् । सबै देशले सार्वभौम देशले आफ्नो सीमाना नियन्त्रण गरेको हुन्छ । अमेरिका र क्यानडामा पनि खुला सीमाना छैन् । अनुमति लिएर जानुपर्छ । भारत र चीनको बीचमा बसेको देश हो, नेपाल । सीमानालाई अन्तर्राष्ट्रिय कानूनअनुसार नियमन गर्नुपर्छ ।’

भारतले बंगलादेशसँग आफ्नो सीमानामा काँडेतार लगाएको स्मरण गराउँदै उनले नेपालले पनि भारतसँग आफ्नो सीमानामा काँडेतार लगाउनुपर्नेमा जोड दिए । उनले भने, ‘भारतसँग सुमधुर सम्बन्ध कायम होस् । सीमानामा हाम्रा दशगजा मिचिएको छ । हाम्रा ७७ वटा भन्दा बढी ठाउँमा अतिक्रमण भएको छ । यदि हामीले समयमै सीमाना नियमन नगरे, ठूलो समस्या उत्पन्न हुन्छ । सबै देशसँग रोटीबेटी गरे भयो नि त । हाम्रो सीमाना खुला राख्नुहुँदैन् । चीनसँग पनि हामी त्यही चाहन्छौं ।’ रावलले अहिले ल्याइएको नागरिकता विधेयकको पनि विरोध गरे । उनले भने, ‘यो नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र हो ।’

यस्तै नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले चलचित्रको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षाका लागि ठूलो योगदान पुगेको बताएका छन् । उनले भने, ‘म यो चलचित्रको सफलताको कामना गर्दछु । नेपालको स्वाधिनताको यात्रामा यो चलचित्र ऐतिहासिक कडीको रूपमा रहेको छ । नवलजीले यसअघि दशगजा फिल्म पनि बनाउनुभएको छ ।’

उनले विश्वका सबै मुलुकका सीमाना नियन्त्रित र व्यवस्थित रहेको भन्दै नेपालले पनि आफ्नो सीमाना व्यवस्थित राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वका सबै देशका सीमाना व्यवस्थित छन्, त्यहाँ पासपोर्ट र भिसाको व्यवस्था छ । भारतसँग भने नेपालको खुला सीमाना छ । १९५० को सन्धीले खुला रूपमा आवातवाजात कायम रहेको छ । अहिले नेपालमा जनसांख्यिक अतिक्रमण बढेको छ । भारत विशाल जनसंख्या भएको देश हो । नेपालमाथि जनसांख्यिक अतिक्रमण बढेको छ ।’

उनले अहिले देशमा नागरिकताका समस्या पनि आएको गुनासो पोखे । उनले भने, ‘राष्ट्रियताको मुद्दा विश्व साम्राज्यवादसँग जोडिएको छ । नेपालको रक्षा र सुरक्षा हुन सक्ने कि नसक्ने ? नेपाल युक्रेन हुने खतरा छ । तत्काल सैन्य युद्धको खतरा छ । यद्धको सम्भावना बढेको छ । हामी सबैखाले बाह्य हस्तक्षेपको विरुद्धमा लड्नुपर्छ । यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन् ।’

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सीमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक नेपालीहरूको मस्तिष्कमा सीमानाको रक्षाका लागि काँडेतार लगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज महान दिन हो । सीमानामा काँडेतार लगाउनुपर्छ भनेर चर्चा गर्ने दिन र मिडियाले धेरै नै कभरेज गरेको देखिएको छ । मेरो मित्र नवलजीले सीमानामा काँडेतार लगाउने अभियान सुरु गर्नुभएको छ । म यसको सदस्यता लिन्छु । उहाँको अभियानमा सक्रियताका साथ लागेको छु । देश जोगाउने र सीमाना जोगाउने जिम्मेवारी हाम्रो हो ।’

खतिवडाले नेपालका नेताहरूलाई देशको चार किल्ला यहाँ छ भनेर पक्का थाहा छ त ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने, ‘हाम्रो चार किल्ला कहाँ त ? हामीले मेची र काली त भन्यौं । मेची र कालीभत्रिका भूभाग छ त ? यो देखाएमात्रै नेताहरू क्रान्तिकारी ठहरिनेछन् ।’

उनले छिमेकीसँगको सीमा विवादको विषयमा राज्य सक्ता मौन र निःशब्द रहेको बताए । उनले भने, ‘राज्य सत्ता त छिमेकसँग सानोतिनो वक्तव्यवाजी मात्रै सीमित छ । राजनेताहरू विदेश भ्रमणमा जान्छन्, सौहार्दपूर्ण वार्ता भयो भन्न्नुहुन्छ । तर, सीमा विषय उठाएको देखिँदैन् । यो हाम्रो देशको विडम्बना छ । सीमानामा काँडेतार लगाउनुभन्दा, देशका नेता, सेना, प्रहरी, बुद्धिजिवीहरूले आफ्नो मस्तिष्कमा काँडेतार लगाउनुपर्छ । मुसा प्रवृत्ति आफ्नै देशभित्र छ । छातीमा नागरिकता टाँसेर मात्रै कोही नेपाली हुँदैन् । नेपाली हुनको लागि माटोको लागि लड्ने स्वाभिमान र ईच्छाशक्ति हुनुपर्छ । आज सार्वभौमसत्ता, सीमाना माथिको अतिक्रमण, राजनीतिमा भएको माइक्रोम्यानेजबाट हामी असाध्यै प्रताडित छौं । सीमाना नियन्त्रण गर्दा अपराधिक गतिविधि नियन्त्रण गर्न सक्छौं ।’

आफ्नै चुच्चे नक्शाको जिम्मेवारी लिन नसक्ने देशको राजनीतिक परिस्थितिले देशको सीमाना नजोगाउने उनको टिप्पणी छ । उनले भने, ‘यसका लागि राष्ट्रिय सहमति आवश्यक छ । लिम्पियाधुरा मेरै हो भन्ने राष्ट्रको इच्छाशक्ति हुनुपर्छ । काँडेतार लगाऔं । सीमाना नियमन गरौं । भारतीय, चिनियाँ, अमेरिकी, भुटानी वा अरु कुनै देशका नागरिक, जो दक्षिण ढोकाबाट प्रवेश गर्नेहरूलाई रेकर्डमा रहँदैन भने कसरी सीमा व्यवस्थापन हुन्छ ? सीमानामा काँडेतार लगाउनुपर्छ भने पनि त्यो लगाऔं । पासपोर्ट पनि जारी गरौं । तर, सीमा नियमन गरौं । केही भएन भने नेपालमा खुला सीमाना प्रयोग गर्नेहरूको लागि दर्ता किताबमा रेकर्ड राखौं ।’

त्यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभासद रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको सुनाए । उनले भने, ‘जब राष्ट्रियतामाथि प्रहार हुन्छ, त्यसलाई जोगाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट बचाउने प्रयास गर्नुहुन्छ । देशको राष्ट्रियता, एकता, अखण्डता, मातृभूमिको मायाप्रतिको माया हामीलाई अरुभन्दा धेरै लाग्छ । हामीले संविधान निर्माण गर्यौं । संविधान सबैको बनायौं । महिला, दलित, मधेश, जनजातिको प्रतिनिधित्व गर्यौं । संविधान जारी हुँदा, नेपालमा वारी खाना खाएर पारी गएर ढुंगा हान्ने काम पनि भयो । वारी खाना खाएर पारी पुगेर ढुंगा हान्नेहरू पनि अहिले संविधान मान्न बाध्य भएका छन् । यो महत्वपूर्ण कुरा हो ।’

खतिवडाले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिने काम भएको भन्दै गुनासो पोखे । उनले आफूहरू नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको सुनाए । उनले भने, ‘प्रत्येक नेपाली सीमानामा काँडेतार भएर उभिनुपर्छ । संसारमा आज बर्लिनको पर्खाल ढलेको छ । काँडेतार हाम्रो मनमनमा र भावनामा जाग्नुपर्छ । यो चलचित्रले पनि यही भाव बोलेको छ । हामी काँडेतारभन्दा तिखो छौं र हौं भन्नुपर्छ । यो भावनाको विकास गर्नुपर्छ ।’

राष्ट्रियताको मामिलामा तत्कालीन प्रधानमन्त्री किसुनजीले भारत भ्रमण गर्ने बेलामा पनि आफ्नो अडान स्पष्ट रूपमा राखेको उनले स्मरण गराए । उनका अनुसार किसुनजीले राष्ट्रियता र एकताको सवालमा कुनै पनि मानेमा नेपालले कसैसँग पनि सम्झौता गर्दै भनेर भनेका थिए ।

उनले नेपाली भूमि रक्षाको लागि उक्त फिल्मलले उत्प्रेरणा जगाउन सफल होस भन्ने कामना पनि गरे । उनले भने, ‘नेपाली भूमिको रक्षार्थ सबै काँडेतार भएर उभिन सकौं । म यही शुभकामना दिन चाहन्छु ।’

काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरूले देशको सीमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए । उनले खुला सीमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भएको टिप्पणी गरे ।

उनले भने, ‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरूमाथि प्रहार हुने गरेको छ । पुर्खाहरूले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियती प्यालेस्टाइनजस्तो हुन्छ । समुद्र नभएका देशहरूले काँडेतार लगाएका छन् । सीमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरुङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’

धेरै पढिएका

पछिल्ला अपडेट