ऋषि धमलालाई जब राष्ट्रपति बनाएर मोबाइल समेत चलाउन दिइएन…

रंग नेपाल २०७९ साउन २७ मा प्रकाशित

काठमाडौं । विगत वर्षझैं रिपोर्टर्स क्लब नेपालले यस वर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशका चर्चित हास्य कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन् ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफूले ४२ वर्षदेखि हास्यव्यङ्ग्य गर्दै आएको बताए । सिम्खडाले ‘नसोध्नुस देश कस्तो छ, जग्गा महङ्गो छ, जनता सस्तो छ, नसोध्नुस् खाना कस्तो छ, एकातिर फोहोरको गोदाम, अर्कातिर चोरको गोदाम…’ बोलको कवितामार्फत देशको पछिल्लो अवस्थालाई चित्रण गरेका छन् ।

सिम्खडाले रिपोर्टर्स क्बल नेपालका सभापति ऋषि धमलाप्रति ‘पुरानो नक्साको किनारमा चुच्चो देखाइदिए नयाँ नक्सा प्रिन्ट गर्नै नपर्ने, ऋषि धमलाको मुख छुराजस्तो नाक लिपियाधुरा जस्तो…’ भन्दै व्यङ्ग्य कसेका थिए ।

उनले पछिल्लो समय नेताहरूले जनता हसाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको टिप्पणी गरे । उनले देश र जनतालाई यतिवेला गतिलो नेतृत्वको आवश्यकत्ता रहेको औंल्याए । देश सिंगापुरजस्तो भए हाँसो व्यङ्ग्य गर्न नपाइने भन्दै उनले ठट्टा गरेका थिए । प्रस्तुतीकै दौरान सिम्खडाल ‘ढुंगा’ शीर्षकको कवितामार्फत देशको विद्यमान राजनीतिक अवस्थाबारे व्यङ्ग्य कसेका थिए । सिम्खडाले आजको क्लबको गाईजात्राविशेष साक्षात्कारको राष्ट्रपति धमला भएको भन्दै सोही अनुसार सम्बोधन गरेका थिए ।

उनले भने, ‘हामी सबै कलाकारलाई विभिन्न मन्त्रालयको जिम्मेवार दिनुभएको सम्माननीय राष्ट्रपतिज्यू, ऋषि धमलालाई धन्यवाद दिन चाहन्छु ।’ उनले आफूले विगत ४२ वर्षदेखि रंगमञ्चमा गाइजात्रा प्रस्तुति गरिरहेको सुनाए । यस वर्ष आफूले आफ्नै युट्युव च्यानलमार्फत प्रस्तुति बाहिर ल्याएको उनको भनाई छ । उनले आफूहरूको प्रस्तुतिमाफर्त समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास दिलाए । उनले पत्रकार धमलालाई कार्यक्रम छोडेर नहिँड्न र मोवाईलसमेत अफ गर्न भनेका थिए ।

त्यस्तै, चर्चित हास्यकलाकार किरण केसी ‘राता मकै’ ले ‘कहिले माया जुनजस्तै, कहिले माया अख्तियारले समातेको धनजस्तै, कस्को आँखा लाग्यो बरिलै….’ कवितामार्फत व्यङ्ग्य कसेका थिए ।

देशमा जति आन्दोलन भएपनि जनताको अवस्था पुरानै छ भन्दै केसीले ‘समस्या पुरानै छन्, पार्टीतन्त्र नयाँ–नयाँ, धामी–झाँक्री पुरानै छन्, प्रजातन्त्र नयाँ–नयाँ’ भन्दै देशमा विकास र समृद्धि नभएको गुनासो पोखेका थिए ।

केसीले आफु ऋषि धमलाको ठुलो शुभचिन्तक भएको बताए । उनले भने,‘हामी दुईबीच झडप पनि परिरहरन्छ र फेरी मिल्छौं ।’ पछिल्लो समयमा धमलाले पत्रकारितामार्फत तिखो व्यङ्ग्य गर्दै आएकोमा उनको भूमिकाको प्रशंसा गरे ।

त्यसैगरी, अर्का कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले शुरूवातमै अर्थमन्त्रालयको सिसि क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यङ्ग्य हानेका थिए । यही सिलसिलामा नेपालले ‘अर्थ मन्त्रालयबाट सिसी टिभीको फुटेज हराएझैं, क्लबमा ऋषि क्यामराको फुटेज नहराओस’ भन्दै हँसाएका थिए ।

उनले पत्रकार ऋषि धमलाका हरेक तह र तप्काका मानिसहरूसँग बहस गर्ने बानी आफूलाई राम्रो लागेको सुनाए । उनले भने, ‘उहाँको खटाई र व्यवहारप्रति नमन गर्न चाहान्छु ।’

नेपालले शतप्रतिशत बोलेको पुर्याउने एकमात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यङ्ग्य कसे । उनले भने,‘केशव स्थापितले चुनावको बेलामा कसैसँग मेरो प्रतिष्पर्धा हुँदैन भन्नुभएको थियो, आखिरमा हुनपनि त्यस्तै भयो, चुनावपछि परीणाम आयो, उहाँको प्रतिस्पर्धा कोहीसँग हुनै सकेन ।’

उनले पनि प्रधानमन्त्री देउवा, नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्यारिकेचर गरेका थिए ।

उनले अब कलाकारहरूले नेताहरूलाई व्यङ्ग्यमात्रै नगरेर सिधै समस्याबारे प्रश्न गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा चुनावको मुखमा देखिएको पारिवारिक उम्मेदवारी र स्वतन्त्र उम्मेदवारहरूप्रति पनि व्यङ्ग्य कसे । उनले कलाकारहरूले विगतका वर्षमा गाईजात्राविशेष कार्यक्रमहरूको आयोजना गर्दै आएकोमा पछिल्लो दुई÷तीन वर्षदेखि कार्यक्रम आयोजना गर्न नसएिको स्विकार गरे ।

त्यस्तै, अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरीबतास आएमा कहाँ पानी पर्छ र..?’ बोलको कवितामार्फत सरकारप्रति व्यङ्ग्य हानेका थिए । उनले पुरोहितहरू प्रति कटाक्ष हानेका थिए । उनको भनाई थियो,‘मार्केटमा पुरोहितहरू अलि दिनमा कराउँछन्, दक्षिणा पाएपछि रक्सि खाँदै कराउँछन्…आफु सही र अरु भन्दै गलत गफ दिन्छन् ।’

सिम्खडाले ऋषि धमलको देशको समसामयिक जनजीविकाको विषयमा दैनिक बहस गर्ने बानी आफूलाई मनपर्ने बताए । धमलाको प्रशंसा गर्र्दै उनले भने,‘धमला ईज ग्रेट म्यान ईन नेपाल ।’ सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेका थिए । देउवाको भूमिकामा प्रस्तुत भएका सिम्खडाले आगामी निर्वाचनमा ‘देउवा र पत्नी आरजु’ दुवै निर्वाचन लड्ने भन्दै देउवाको क्यारिकेचर गरेका थिए ।

यसैगरी, अर्का हास्यकलाकार दमन रूपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरूलाई उम्मेदवारी नदिन आग्रह गरे । बुढा÷पाका नेतालाई थन्काएर युवा नेताहरूलाई नेतृत्वमा ल्याउनुपर्ने उनको धारणा थियो । उनले ऋषि धमलाको नाक लामो भएको उल्लेख गर्दै भने,‘उहाँको जति लामो नाक छ त्यत्तिनै मन सफा छ ।’

धमलालाई उनले बहुप्रतिभाशाली व्यक्तित्वको संज्ञा दिए । रूपाखेतीले आफू र जितु नेपाल एउटै हो भन्दै अब जितुसँग मिलेर अघि बढ्ने स्पष्ट पारे । उनले पनि प्रधानमन्त्री देउवाको क्यारिकेचर गरेका थिए ।

त्यस्तै, अर्का कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले भ्रष्टाचारको विरुद्धमा प्यारोडी सुनाएका थिए । उनको प्यारोडी यस्तो थियो–

कसो कसो बास पर्यो अख्तियारको घरमा,
किन आँखा पर्यो होला मैले कमाएको धनमा
देश हाँक्ने भनेर नै लडेका हुन अरे
जनता सुकीसुकी मर्न आँटे तिनले भुँडी भरे…
होइन भने कलिलो गणतन्त्रलाई सोध जनतालाई’

उनले यस वर्षको गाईजात्रामा भने ‘गठबन्धन’ नामक कोशेली ल्याएको सुनाए । उनले आफ्नो उक्त नयाँ गाइजात्रे कोशेलीको सानो अंश ‘यस्तै छ जनाव, २०७९ को स्थानीय चुनाव’ बोलको प्रस्तुती दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट