‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

रंग नेपाल २०७९ असोज ३१ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रूचाए ।

‘अहिले सहजै कलाकार मान्नुहुन्छ । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन्। मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् ।

‘ऐश्वर्य’ मा निर्वाह गरेकाे भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ । ‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन। आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ”, अभिनेता ताम्राकारले भने । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा (अनुप, प्रशान्त) अभिनित फिल्म ‘लाखे’ को आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए ।

‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु।  म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु’, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् ।

सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । रासस

धेरै पढिएका

पछिल्ला अपडेट