‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गर्दै अध्यक्ष ओलीले भने: मदनकृष्णको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्

रंग नेपाल २०७९ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन् । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ प्रदर्शन हुने क्रममा रहेको बेला सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन् । ‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण हाओस् भन्ने कामना गर्दछु । ओलीले भनेका छन्, मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र महापुरुष हेर्ने इच्छा लागेको छ । चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु ।’

केहि दिन अघि अभिनेता श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका थिए । श्रेष्ठ अभिनित फिल्म महापुरूष बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्दै आफुलाई अभिनय गर्न मन लाग्ने तर स्वास्थ्यले कहिलेकाहीँ साथ नदिने तर पनि आफु आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउने गरेको बताएका थिए  । नेपाली चलचित्र महापुरुष भाइटिकाको भोलिपल्ट कात्तिक ११ गते प्रदर्शन हुँदै छ ।

धेरै पढिएका

पछिल्ला अपडेट