हर्कको अर्को स्तरहीन अभिव्यक्ति : ‘लाटा गोरुहरू’को तर्क सुन्दा बेस्सरी गिट्टी कुट्न मन लाउँच

रंग नेपाल २०७९ पुष १९ मा प्रकाशित

काठमाडौं । राम्रो होस् या नराम्रो विभिन्न अभिव्यक्ति दिएर सामाजिक सञ्जालहरूमा खुबै चर्चा बटुल्न माहिर धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङले पुन: अर्को स्तरहीन र विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले भनेका छन् ‘सरकारी जग्गा अरे ??? म चाहिँ को हो त ? सरकार होइन ? लाटा गोरुहरूको तर्क सुन्दा पनि बेस्सरी गिट्टी कुट्न मन लाउँच !’ उनको यो अभिव्यक्ति कसलाई लक्षित हो भन्ने स्पष्ट छैन । व्यक्ति, निकाय र समूह त किटान नगरिए पनि यही समाजको कुनै एक अङ्गलाई गरिएको निर्मम प्रहार भएको स्पष्ट बुझ्न सकिन्छ ।

सोही समयको वरीपरिमा उनले अर्को ट्विट पनि गरेका छन् । र लेखेका छन्, ‘ ऐलानी जग्गामा घर टहरा नबनाउनु होला ! नगरले जुनसुकै बेला भत्काइदिनेछ ! त्यो बेला हल्ला गर्न नपाई !’ उनले करिब एउटै समयमा लेखेको दुई वटा धारणा आफैंमा बाझिएको जस्तो पनि देखिन्छ ।

पहिलो ट्विटमा सरकार भनेको म पनि हुँ, मैले ल्याएको योजना सरकारी जग्गामा पनि सञ्चालन हुन वा गर्न सकिन्छ भन्ने आशयको छ भने दोस्रो ट्विटले सरकारी जग्गा प्रयोगमा रोक लगाउने र कसैले प्रयोग गरे उपमहानगरले हटाउने चेतावनी दिएको झल्किन्छ ।

घटनाक्रमलाई नियाल्दा स्थानीयस्तरमा रोजगारी सृजना गर्ने भन्दै उनले राष्ट्रिय वनक्षेत्रमा साबुन उद्योग निर्माण गर्न लागेका थिए । तर, उक्त कार्य गर्नबाट उनलाई अदालतले रोकेको छ । मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल काम स्थगन गर्न यही पुस पहिलो साता अन्तरिम आदेश जारी गरेको थियो ।

डिभिजन वन कार्यालयका सुनसरी प्रमुख भीमबहादुर कालिकोटेले दायर गरेको रिटमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पुस ६ गते अन्तरिम आदेश जारी गरेको हो ।उच्चको यो आदेशसँगै धरानको वडा नम्बर २० स्थित नमुना टोलमा भइरहेको साबुन उद्योग निर्माण कार्य तत्काल रोकिएको छ । डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गा भएको र उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गर्ने आवश्यक प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो । तर, मेयर साम्पाङले भने उक्त जग्गा वनको नभएको दाबी गर्दै कामलाई निरन्तरता दिएका थिए ।

उच्च अदालतको अन्तरिम आदेश आएसँगै मेयर साम्पाङले अन्तरिम आदेशलाई विकास विरोधी भनेर तत्काल प्रतिक्रिया जनाएका थिए । त्यतिबेला फेसबुकमा उनले लेखेका थिए, ‘माया धराने साबुन फ्याक्ट्री निर्माण गर्न नदिने स्टे अर्डर जारी गरे । वन विभाग र पार्टी लागे धरानको उत्पादन र रोजगारी रोक्न ।’ सम्भवत: आज उनले ‘लाटा गोरुहरू’ जस्ता तल्लोस्तरको शब्द प्रयोग गरी दिएको दुई वटा अभिव्यक्ति यसै घटनासँग सम्बन्धित र लक्षित रहेको अनुमान गर्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट