जागृति परिवारमा ‘प्रेम थापा’ पुस्तक विमोचन

रंग नेपाल २०७९ पुष २४ मा प्रकाशित

खरसाङ (भारत) । भारतीय नेपाली समाजका सुपरिचित राजनीतिज्ञ, साहित्यकार, सामजिक कार्यकर्ता तथा शिक्षक स्व. प्रेम थापामाथि लेखिएको पुस्तक भारतीय साहित्यका निर्माता ‘प्रेम थापा’ शनिबार जागृति परिवारमा विमोचन भएको छ । भारतीय नेपाली समाजका नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले लेखेका पुस्तक दार्जीलिङ पहाडी भएको ५० वर्ष पुरानो नाट्य संस्था ‘जागृति परिवार’को भवनमा अध्यक्ष खेमराज राई र पत्रकार सञ्जय प्रधानले विमोचन गरे । नयाँ दिल्लीस्थित साहित्य अकादेमीले यो पुस्तक प्रकाशित गरेको हो ।

२१ फरवरी १९३३ मा खरसाङको मकैबारी चियाबगानदेखि केही तल लङ्भ्यूको चिलाउने धुरामा जन्मिएका प्रेम थापा हास्यव्यंग्य साहित्यकार थिए । पेशाले खरसाङको सन्त अल्फन्सस स्कूलमा शिक्षक रहेका थापा शिक्षा र राजनीतिक क्षेत्रमा पनि उत्तिकैं चर्चित थिए । भारतीय नेपाली साहित्य क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । यस पुस्तकले उनको व्यक्तित्व परिचयका साथमा सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रबारेमा विशेष गुणहरू उजागर गरेको छ । यसका साथै उनका व्यङ्ग्यात्मक रचनाहरूकाबारेमा विशेष रुपमा लेखक पूर्ण गुरुङ ‘निरुपम’ले पुस्तकमा प्रकाश पारेका छन् । स्वर्गिय थापा सन् १९१३ मा स्थापना भएको भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङको गोर्खा जन पुस्तकालय र सन् १९३५ मा स्थापित गोर्खा दुस्ख निवारक सम्मेलन (जीडीएनएस)सँग सामाजिक कार्यको निम्ति संलग्न थिए ।

सामाजिक कार्यलाई निरन्तरता दिन सन् १९५८ मा खरसाङ नगरपालिकाको निर्वाचनमा निर्वाचित भएर थापाले नगरपाल बनेर समाज विकासका कार्यहरू गरे । सन् १९७५ मा अनि १९८४ मा पनि उनी नगरपालको रुपमा निर्वाचित भएर जनसेवाका कार्यहरूलाई निरन्तरता दिए । सन् १९८६ मा गोर्खाल्याण्ड आन्दोलनको दौरान सीआरपीएफको गोलीकाण्डमा पाँचजनाको ज्यान गएको थियो । यसै घटनाको विरोध जनाउँदै थापाले नगरपालको पदबाट राजीनामा दिएका थिए ।

सन् १९७९ मा भारतका तत्कालीन प्रधानमन्त्री स्व. मोरारजी देसाई दार्जीलिङ आएका बेलामा नेपाली भाषालाई मान्यता दिलाउने माग चर्किएको थियो । थापा भारतको सत्ताधारी दल जनता दलमा भएको हुँदा नेपाली भाषा मान्यताको माग लिएर आफ्नो प्रतिनिधि टोली लिएर गएका थिए । प्रधानमन्त्री मोरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भन्दा तत्कालै विरोध जनाउँदै थापाले ‘मोरारजी देसाई मुर्दावाद !’को नारा लगाएर प्रतिवाद गरेका थिए । सन् १९८० मा उनी ‘छुट्टै प्रान्त’ अर्थात राज्यको माग गर्दै दार्जीलिङ प्रान्त परिषदमा सक्रिय भए । उनी छुट्टै प्रान्तको माग गर्न स्थापित गरिएको ‘दार्जीलिङ प्रान्त परिषद’को एकजना संस्थापक थिए ।

सन् १९६९ मा उनी अखिल भारतीय गोर्खालीगबाट पश्चिम बङ्गाल विधानसभाको चुनावमा खरसाङ(सिलगढी विधानसभाबाट निर्वाचित भएर विधायक बनेका थिए । त्यति बेला सिलगढी खरसाङ विधानसभा समष्टिभित्र नै अन्तर्भुक्त थियो ।

साहित्यको क्षेत्रमा उनका दर्जनौं व्यङ्ग्यात्मक कथा, निबन्धहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । सन् १९६२ मा कथा सङ्ग्रह ‘प्रेम स्मारक’ र सन् २००१ मा ‘प्रेम थापाका कथाहरू’ (कथा सङ्ग्रह) पुस्तक प्रकाशित भएका छन् । थापाको १७ सेप्टेम्बर २००१ मा निधन भएको थियो।

जागृति परिवार स्वर्ण वर्षमा प्रवेश

सन् १९७३ मा खरसाङमा नाट्य संस्था ‘जागृति परिवार’ स्थापना भएदेखि करिब ३६ वटा नाटकहरू मन्चन गरिसकेको छ । यस वर्ष २९ जुलाईमा जागृति परिवारको ५० वर्ष अर्थात स्वर्ण वर्ष पूरा हुनेछ ।

स्वर्ण वर्षको कार्यक्रम भव्य रुपमा मनाउन शनिबार जागृति परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा बैठक बसेको छ । यसैबीच, कालेबुङ प्रेस क्लबबाट ‘एक्सिलेन्स इन् जर्नलिजम’ पुरस्कार प्राप्त गरेका जागृति परिवारका सदस्य सञ्जय प्रधानलाई परिवारका सदस्यहरूले बधाई साथै शुभकामनासमेत दिएका थिए । जागृति परिवारले स्वर्ण जयन्ती मनाउनका लागि प्रकाश प्रधानको संयोजकत्वमा १६ जनाको उपसमिति गठन गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट