‘मेरो गाउँ, मेरो ठाउँ, २०२३’को लागि भिडियो आह्वान

रंग नेपाल २०७९ फागुन १४ मा प्रकाशित

काठमाडौं । वी विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ, २०२३’को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ ।

फाउन्डेसनले ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत १२ फागुनदेखि ७० दिन अर्थात् २१ वैशाख २०८० सम्मका लागि भिडियो पठाउन आह्वान गरेको हो । विजेता प्रतियोगीहरूको घोषणा १३ जेठ २०८० मा गरिने फाउन्डेसनले जनाएको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कला, संस्कृतिलगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ ।

सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट १३२ वटा वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड– १९ महामारीका कारण कार्यक्रम स्थगित भएको थियो ।

यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्नेछन् । ‘मेरो गाउँ, मेरो ठाउँ, २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउन्डेसनले जनाएको छ ।

भिडियो निर्माताहरूले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँ–ठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, खानपान, कला, संस्कृति, जातजातिको पहिचान लगायतका विषयहरूलाई आधार बनाएर
भिडियो तयार पार्न सक्नेछन् ।

वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनोट गरेका उत्कृष्ट १० वटालाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । फाउन्डेसनले कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमकोउपादेयता अझ बढेर गएको दाबी गरेको छ ।

प्रतियोगिताले देशैभर ओझेलमा रहेका पर्यटकीय थलोहरू पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने र प्राप्त वृत्तचित्रहरूको उचित प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ठूलो सहयोगी हुन सक्नेमा फाउन्डेसन विश्वस्त छ । प्रतियोगितामा सहभागिता लागि कुनै किसिमको शुल्क नलाग्ने फाउन्डेसनले जनाएको छ ।

प्रतियोगितामा ‘बेस्ट भिडियो अफ दि इयर’लाई ५ लाख, ‘पब्लिक च्वाइस अवार्ड’लाई २ लाख, ‘बेस्ट डिरेक्टर’लाई १ लाख, ‘वुमन भिडियो मेकर अफ दि इयर’लाई १ लाख, ‘फ्युचर स्टार अफ दि इयर’लाई १ लाख, ‘ मोस्ट पोटेन्सियल डेस्टिनेसन’लाई १ लाख, ‘मोस्ट इनर्जेटिक भिडियो मेकर’लाई १ लाख, ‘बेस्ट स्क्रिप्ट भ्वाइस ओभर’लाई १ लाख, ‘बेस्ट सिनेमाटोग्राफर’लाई १ लाख, ‘बेस्ट एडिटर’लाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट