‘कैदीको पत्र’को घरै बसूँ पीरैपीर हो… सार्वजनिक

रंग नेपाल २०८० वैशाख ५ मा प्रकाशित

काठमाडौं । बेलायतबाट निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ रिलिजको तयारीमा छ । यस चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यसको घरै बसूँ पीरैपीर हो…को भिडियो सार्वजनिक गरिएको छ ।

आगामी १५ वैशाखबाट देशैभर रिलिज हुने यस चलचित्रको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारका रूपमा पृथ्वीराज खत्रीले अभिनय गरेका छन् । कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारसले पनि यस गीतको भिडियोमा अभिनय गरेका छन् । यस गीतमा सनमकुमार बैरागको शब्द रचना, बिनम्र कर्माचार्यको संगीत र अभिषेक कार्कीको स्वर रहेको छ ।

यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतका नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ ।

यस चलचित्रको सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको हो । चलचित्रलाई नाट्यकर्मी सनमकुमार बैरागले निर्देशन गरेका हुन् । साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यस चलचित्र बनाइएको हो ।

बैरागले भने, ‘प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई यसमा हामीले चित्रण गरेका छौं ।’ यस चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि आफैंले तयार गरेको बैरागले बताए ।

यस चलचित्रका निर्माता दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी हुन् । जसमा रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

यस चलचित्रका गीतहरूमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको छ भने प्रताप दास, अञ्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट